सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अमेरिकामा आयोजना हुने १८औं वार्षिक अन्तर्राष्ट्रिय रकेट इन्जिनियरिङ प्रतियोगिता (आईआरईसी २०२५) मा सहभागी हुने भएको छ।
सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा विश्वभरका १५० भन्दा बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलो पटक सहभागी हुन लागेको टिमको नेतृत्व समिप अर्यालले गरेका छन्।
अर्यालका अनुसार प्रतियोगिताका लागि आवश्यक मापदण्ड पूरा गर्दै ‘उडान ए’ नामक रकेट निर्माण भइसकेको छ। यो रकेट २.५ मिटर उचाइ, ११० मिलिमिटर गोलाइ र १८ केजी कुल तौलको छ, जसले १०,००० फिट उचाइसम्म उड्ने दाबी गरिएको छ। रकेटमा ह्युमिडिटी र प्रेसर सेन्सर जडान गरिएको छ, साथै यो पुन: प्रयोग गर्न सकिने प्रविधिबाट निर्मित छ।
हाल टिमले रकेट परीक्षणका लागि अनुमति प्रक्रिया अगाडि बढाएको छ। साथै, प्रतियोगितामा सहभागी हुन आवश्यक आर्थिक सहयोग जुटाउन सक्रिय रहेको टिमले बताएको छ। विश्वविद्यालयले रकेट निर्माणमा सामग्री सहयोग गरे पनि अमेरिका जाने र अन्य व्यवस्थापनका लागि दाताहरूको सहयोग आवश्यक रहेको टिम लिडर अर्यालले जनाएका छन्।
‘टिम उडान’ को यो ऐतिहासिक कदमले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास गरिएको छ।