सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पले आठ घर पूर्ण रूपमा भत्काएको छ भने केही घर आंशिक रूपमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराको प्रारम्भिक तथ्यांकअनुसार बुढीनन्दा नगरपालिका–२ की कल्पना बुढाको दुईतले घर, वडा नं. ४ मा जनक बोहराको घर, र वडा नं. ९ पाण्डुसैनमा पदम सार्कीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
यस्तै, सोही नगरपालिका–३ का धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चँदारा र मानसिंह थापाको घरमा आंशिक क्षति भएको छ। कैलाश अतिथिगृहको भवन पनि भूकम्पबाट प्रभावित भएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका–१ मा दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकबहादुर बोहराले दिएका छन्।
भूकम्पको केन्द्रविन्दु रहेको गोत्रीमा १२३ परिवार जोखिममा रहेको भन्दै वडा नं. ५ कार्यालयले जिल्ला विपत् व्यवस्थापन समितिमा सिफारिस गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार अन्य स्रोतबाट पनि विवरण यकिन गर्ने काम भइरहेको छ।
पीडितहरूलाई चिसोबाट जोगाउन राहत र उद्धारका कार्यलाई तीव्र बनाउनु पर्ने स्थानीयको माग रहेको छ। नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेका परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउन आग्रह गरेका छन्।
प्रभावित क्षेत्रका अन्य पालिकामा भएको क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
रासस