Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले ४५० पृष्ठ लामो आरोपपत्रसहित प्रमाणहरू अदालतमा पेश गरिएको जानकारी दिएकी छिन्।

जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले आरोपपत्र अध्ययन गर्ने प्रक्रिया जारी रहेको बताए। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दर्ता गर्ने तयारी भइरहेको छ। उनलाई आज बिहान अदालतमा उपस्थित गराइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा रविसहित जीबी राई लगायतका व्यक्तिहरूले करिब एक अर्ब रुपैयाँ बिगो मागदावी गर्नुपर्ने उल्लेख गरिएको छ। सोही प्रतिवेदनका आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको हो।

संसदीय छानबिन विशेष समितिले रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरूको रकम अपचलन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको साहारा बहुउद्देश्यीय सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, र नेपालगञ्जको समानता सहकारीका रकमहरू अपचलन गरिएको आरोप लगाइएको छ।

रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। यसअघि, असोज ६ गते सूर्यदर्शन सहकारी प्रकरणकै क्रममा पूर्वडीआईजी छविलाल जोशीलाई पनि पक्राउ गरिएको थियो। बयानका लागि उनीहरूलाई बुटवल, चितवन, काठमाडौं, र वीरगञ्जमा पनि लगिएको थियो।

रविको सहकारी ठगी प्रकरणसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा थप कारबाही अघि बढाउन प्रहरीले प्रक्रिया जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *