Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।

पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको हो।

१४ हजारभन्दा बढी मृत्यु र ३,४४० अङ्गभङ्ग श्रमिक
वैदेशिक रोजगार बोर्डको स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीमा १४,२१३ जना श्रमिकले ज्यान गुमाएका छन्। त्यस्तै, ३,४४० जना गम्भीर बिरामी वा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन्। ती श्रमिकलाई बोर्डमार्फत आर्थिक सहायता प्रदान गरिएको छ।मन्त्रालयले सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरी डिसेम्बर १६ देखि २२ सम्म साताव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ। दिवस मनाउन सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, सञ्चार जगत्, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारको सहकार्यमा विविध कार्यक्रम सञ्चालन गरिएको छ।

वैदेशिक रोजगारीका तथ्याङ्क र योगदान..
आर्थिक वर्ष २०८०/८१ मा ७,४१,२९७ नेपाली श्रमिकले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये ८०,१७२ जना महिला छन्। राष्ट्र बैंकका अनुसार, गत वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँको रकम नेपाल भित्रिएको छ।

वैदेशिक रोजगार नीति परिमार्जनको तयारी..
श्रम मन्त्रालयले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बन्धी नीतिको परिमार्जनको तयारी गरिरहेको जनाएको छ। उपसचिव वसन्त बोहराले नीति परिमार्जनका लागि सुझाव संकलन भइरहेको जानकारी दिनुभयो।

आप्रवासी श्रमिकहरूको समस्या र समाधानका उपाय..
उपसचिव महेश पराजुलीले ९८.९ प्रतिशत रेमिट्यान्स औपचारिक च्यानलमार्फत पठाइएको र समस्यामा परेका श्रमिकहरूको सङ्ख्या न्यून रहेको बताउनुभयो। श्रमिकहरूले कमाएको रकम घरपरिवार व्यवस्थापनमा बढी खर्च हुने देखिएकाले त्यसलाई आयआर्जनमा लगाउन प्रोत्साहन र सचेतना कार्यक्रम आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

वैदेशिक रोजगारीको भूमिकाः अर्थतन्त्र र समाजमा प्रभाव
नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा २५ प्रतिशतभन्दा बढी रहेको छ। वैदेशिक रोजगारीले अर्थतन्त्रलाई गतिशील बनाउँदै गरिबी न्यूनीकरण र घरपरिवारको आर्थिक जोखिम कम गर्न महत्वपूर्ण योगदान पु¥याएको श्रम मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको महत्त्व
संयुक्त राष्ट्रसङ्घले १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेपछि सन् २००३ देखि डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रूपमा मनाउन थालिएको हो। नेपालमा पनि यस अवसरमा आप्रवासी श्रमिक र उनीहरूको योगदानको कदर गर्दै विविध कार्यक्रम आयोजना गरिँदै आएको छ।

 रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *