Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।

सप्तरी, डाक्नेश्वरी नगरपालिका-१ स्थित कविलासाका ५५ वर्षीया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा बेपत्ता प्रकरणमा न्याय माग्दा ज्यान मार्ने धम्की पाएको गुनासो गरेकी छन्।

बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडित साहले घटनाका आरोपितका आफन्तबाट धम्की आउन थालेपछि आफू गाउँमा बस्न असुरक्षित भएको बताइन्। उनले सुरक्षासहित बस्ने वातावरण सिर्जना गर्न माग गरिन्।

तीन वर्षअघि साहकी १९ वर्षीया छोरी सन्तोषीको हत्या र १७ वर्षीय छोरा आशिष बेपत्ता भएका थिए। सो घटनाका मुख्य आरोपित डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार पक्राउ परेका साहलाई अपहरण, शरीरबन्धक, जबर्जस्तीकरणी, र कर्तव्य ज्यानका मुद्दामा अनुसन्धान भइरहेको छ। सप्तरी जिल्ला अदालतले दुई पटक म्याद थप गर्दै साहमाथि थप अनुसन्धान गर्न अनुमति दिएको छ।

गत २०७९ साउन १७ मा भएको घटनामा पीडित परिवारले जाहेरी दिएपछि अन्य आरोपितहरुको पनि खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ। धम्कीको विषयमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी गराइए पनि कतैबाट सहयोग नपाएको भन्दै पीडित साह गाउँ छोड्न बाध्य भएको बताएकी छन्।साहले न्याय र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई अपिल गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *