Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

सर्लाहीको गोडैता नगरपालिका–२ स्थित एक सामुदायिक विद्यालयमा अनियमितताको आरोपमा आक्रोशित अभिभावकहरूले शिक्षकहरूलाई विद्यालयको कार्यालयमा थुनेका छन्।

बुधबार बिहान विद्यालय पुगेका शिक्षकहरूलाई अभिभावकहरूले कार्यालयमा थुनेर ढोकामा ताल्चा लगाएका थिए। आधारभूत विद्यालयका प्रधानाध्यापक गर्भु महतोमाथि विद्यालय व्यवस्थापन समिति गठन नगरी एकलौटी निर्णय गर्ने, विद्यार्थीका लागि प्राप्त सुविधा लक्षित समूहसम्म नपु¥याउने र नियमित विद्यालय नआउनेजस्ता गम्भीर आरोप लागेको छ।

अभिभावकका गुनासा र भ्रष्टाचारको आरोप

अभिभावकहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध सामग्री शिक्षकहरूले आफूले राख्ने, छात्रवृत्ति तथा दिवा खाजा योजनामा भ्रष्टाचार गर्ने, र माटो परीक्षण तथा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाएका छन्। महतोले विद्यालय व्यवस्थापन समितिका पुराना सदस्यहरूसँग मिलेर निर्णय गर्ने, विद्यालयको आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने, र केही अभिभावकलाई उचालेर अन्यलाई दबाब दिने कार्यमा संलग्न भएको गुनासो पनि गरेका छन्।घटनाका बेला प्रधानाध्यापक महतो विद्यालयमा नभएका कारण उनीमाथि आक्रोश झन् बढेको थियो। बारम्बार फोन गर्दा पनि महतोले फोन नउठाएपछि अभिभावकहरूले कार्यालयमा रहेका सबै शिक्षकलाई थुनेर विरोध जनाएका थिए।

विद्यालयमा समस्या चर्किएपछि वडाध्यक्ष अजय साहको पहलमा थुनिएका शिक्षकहरूलाई केही घन्टापछि मुक्त गरिएको थियो। वडाध्यक्ष साहले विद्यालयमा देखिएका समस्याहरू समाधान गर्न अभिभावक र वडा कार्यालय मिलेर पहल गर्ने आश्वासन दिएका छन्।

आक्रोशित अभिभावकहरूले प्रधानाध्यापक महतोमाथि कडा कारबाही गर्न माग गर्दै विद्यालयमा भ्रष्टाचार रोक्न तत्काल कदम चाल्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *