सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम
जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्।
मिथिला क्षेत्रको पहिचान र प्राकृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका देवनारायण मण्डल अहिले सर्प उद्धार अभियान र मिथिला कल्चरल भिलेजको स्थापना गरेर चर्चामा आएका छन् । मण्डलले यस अघि १० वर्षभन्दा बढी समयदेखि सर्प संरक्षण र उद्धार अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सर्प उद्धार अभियान…..
देवनारायण मण्डलको सर्प उद्धार अभियान मिथिला क्षेत्रमा विशेष चर्चित छ। उनले सर्पको पहिचान, संरक्षण र उद्धारका कार्यहरू झण्डै एक दशकअघि सुरु गरेका थिए।
मण्डलका अनुसार, “सर्पलाई मार्नु प्राकृतिक चक्रलाई तोड्नु हो,” र यस अभियानमार्फत उनले हजारौं सर्पलाई उद्धार गरी सुरक्षित स्थानमा पुनर्स्थापना गरिसकेका छन्। यसले मिथिला क्षेत्रमा मानव-सर्प द्वन्द्वलाई कम गर्न उल्लेखनीय सफलता प्राप्त गरेको छ।
मिथिला कल्चरल भिलेजको स्थापना….
मण्डलले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरको संरक्षण र प्रचार-प्रसारको उद्देश्यले मिथिला कल्चरल भिलेजको स्थापना गरेका छन्।
यस भिलेजले मिथिला कलाको आधुनिक शैलीमा प्रस्तुत गर्दै स्थानीय संस्कृति र परम्परा विश्वव्यापी स्तरमा चिनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ। भिलेजमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमहरूले स्थानीय कलाकारलाई आफ्नो कला प्रदर्शन गर्ने अवसर पनि दिएको छ।
“भविष्यमा मिथिलाको पहिचान जोगाउन कल्चरल भिलेजले महत्त्वपूर्ण भूमिका खेल्ने छ,” मण्डलले भनेका छन्। यस भिलेजले न केवल पर्यटकलाई मिथिला संस्कृति नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ, तर यसले स्थानीय समुदायलाई आर्थिक रूपमा पनि सशक्त बनाउने लक्ष्य राखेको छ।
कल्चरल भिलेजका संचालक देवनारायण मण्डलका अनुसार, यहाँ आगन्तुकलाई पोखरी, रिसोर्ट, बगैंचा, सभाहल, र रात्री विश्रामका लागि फुसका घरहरूमा उत्तम सुविधाहरू प्रदान गरिएको छ।
कल्चरल भिलेजमा आगन्तुकहरूले पोखरीमा बसेर बन्सीमा माछा मारेर खान सक्ने व्यवस्था गरिएको छ। यहाँ झिझिया, झरी लगायतका परम्परागत नाचगानहरू पनि देखाइन्छ, जुन कमसेकम १० जनाको आगमनमा प्रस्तुत गरिन्छ।
सञ्चालक मण्डलले बताए अनुसार, यहाँ जैविक खेतीबाट उत्पादन भएका तरकारी र अन्य परिकारहरू तयारी गरिन्छ। शाकाहारीहरूको लागि दाइल, भात, अचार, पापड, तिलौरी, तिसौरी, बिरिया, कुम्हरौरी, अदौरी, पुदिना अचार र धनियाँ चटनीसहितका स्वादिष्ट परिकारहरू उपलब्ध छन्। चाय र कफीको लागि माटोका पात्र प्रयोग गरिएको छ।
मण्डलले यो पनि जानकारी दिए आगन्तुकहरूलाई गामको पुरानो परिवेशको अनुभव दिनका लागि बयल गाडीमा घुमाउने व्यवस्था पनि गरिएको छ।
सम्मान र प्रशंसा…..
काठमाडौँ विश्वविद्यालयले यस वर्ष ३ जना विभिन्न विधामा लामो समयदेखि स्थानीय स्तरमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कर्म साधना सम्मानबाट सम्मानित गरेको छ।
यस वर्षका सम्मानित व्यक्तिहरूमा मिथिला कलाकार बिन्दु देवी कर्ण, हस्तकला बजारमा मधेश र थारू समुदायका महिलालाई सहयोग गर्ने Knot Crafts का संस्थापक श्याम बादन श्रेष्ठ, र सर्प उद्धार अभियानकर्ता र मिथिला कल्चरल भिलेजका स्थापनाक देव नारायण मण्डल समेत रहेका छन्।
३० भन्दा बढी शर्टलिस्ट भएका उम्मेदवारहरूबाट काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरूको टोलीले विभिन्न मापदण्डहरूको आधारमा ३ जनालाई चयन गरेका थिए। सम्मानसँगै नगद रु. १,५०,०००/- पनि प्रदान गरिएको छ।सार्वजनिक र निजी क्षेत्रबाट प्राप्त सम्मानले देवनारायण मण्डललाई एक उदाहरणीय अभियन्ता बनाउन सफल बनाएको छ, जसले मिथिला क्षेत्रको संरक्षण र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।