सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको आरोप लगाएका छन्। सिरहामा ‘जनतासँग जसपा नेपाल’ अभियानको क्रममा अध्यक्ष यादवले मंगलबार लहानमा आयोजित कार्यक्रममा राज्यसत्ताको दुरुपयोग गर्दै दलाल र बिचौलियाहरूले बिना लगानी करोडौं रुपैयाँ कमाइरहेको बताउँदै यो प्रवृत्ति संस्थागत भएको गम्भीर दाबी गरे।
उनले कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरूलाई मुलुकको आर्थिक र सामाजिक पतनको जिम्मेवार ठहर्याउँदै, “यी दलहरूले शिक्षा, स्वास्थ्य, कृषि, र उद्योगलाई ध्वस्त पारेका छन्,” भने। यादवका अनुसार मुलुक अहिले २४ खर्ब ऋणमा डुबेको र यसमा दलहरूको भ्रष्टाचारको मुख्य भूमिका रहेको छ।
सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम
यादवले कमिसन र लुटतन्त्रले लोकतन्त्रलाई बर्बाद पारेको आरोप लगाएका छन्। उनले दलाल पुँजीवादलाई संरक्षण गर्न नोकरशाहीले समेत ठूलो भूमिका खेलेको बताउँदै, “कांग्रेस, एमाले, माओवादी, र राप्रपा फरक नाममा भए पनि सिद्धान्त एउटै हो— सत्तामा पुगेर लुट्ने।”
यादवको आक्रोशपछि उनका पूर्वसहयोगी अमर यादवले अध्यक्ष यादवमाथि नै गम्भीर आरोप लगाएका छन्। अमर यादवले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै विभिन्न पदाधिकारीहरूको नियुक्तिमा अध्यक्ष यादवले व्यक्तिगत फाइदाका लागि कमिसन लिएको दाबी गरेका छन्।
जसपा नेपालका कतिपय नेताहरूले अध्यक्ष यादवको आक्रोशलाई संघीय र प्रदेश सरकारबाट बाहिरिएको पीडाको परिणाम भनेका छन्। जसपा नेपालले हालै संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। ‘जनतासँग जसपा नेपाल’ अभियान पुस र माघ महिनाभर सञ्चालन हुने र वडा स्तरसम्म नेता-कार्यकर्तालाई परिचालन गरिने निर्णय भएको छ।
अभियानका क्रममा गोलबजारमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जसपा उपाध्यक्ष राजकिशोर यादव, उपमहासचिव सुरेश मण्डल, प्रदेश सभासद राजु गुप्ता, र सञ्जिला यादवलगायतका नेताहरू सहभागी भएका थिए।जसपाले चैत मसान्तसम्म प्रदेश, जिल्ला, पालिका र वडा तहमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। नेताहरूले यस अभियानले संगठनलाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।