Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सिरहा जिल्लामा २५५ सवारी दुर्घटना भएका छन् जसमा २२ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुर्घटनाको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिए पनि मृत्यु हुनेको संख्या बढेको छ।

गत आर्थिक वर्षको प्रथम चौमासिकमा १५ जनाको मृत्यु भएको थियो भने चालु वर्षमा यो संख्या २२ पुगेको छ। अघिल्लो वर्ष जिल्लाभर ९९७ सवारी दुर्घटनामा ६८ जनाको मृत्यु भएको र १,५७९ जना घाइते भएका थिए।

जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले मृत्युको दरमा वृद्धि हुनु दुःखद भएको बताए। उनका अनुसार, चालकको गल्ती, मापसे, तीव्रगति, सवारीलाई उछिन्न खोज्ने प्रवृत्ति, यान्त्रिक गडबडी, ट्राफिक नियम उल्लङ्घन, तथा क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउनुजस्ता कारण दुर्घटनाका मुख्य कारण बनेका छन्।

“वार्षिक रूपमा धेरै व्यक्तिले अकालमै ज्यान गुमाउनुपरेको छ। दुर्घटनाको अनुसन्धान गर्दा अधिकांश घटनामा चालकको गल्ती नै देखिएको छ,” प्रहरी निरीक्षक थपलियाले बताए।

उनका अनुसार, सडक चौपायाको समस्या, बढ्दो सिटी रिक्साको अव्यवस्था, र ट्राफिक नियम उल्लङ्घन पनि दुर्घटनाको कारण बनेका छन्। दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले जनचेतना कार्यक्रम तीव्र बनाएको भए पनि मृत्यु दर घटाउन सरोकारवाला निकायको सार्थक पहल अपरिहार्य रहेको उनको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रयास जरुरी
सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रहरी निरीक्षक थपलियाले सबै सरोकारवाला निकायले गम्भीर र दीर्घकालीन उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन्

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *