Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ३ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा गत असोज २३ गते मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनका प्रेमीले गरेको खुलेको छ। हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघाटा गाउँपालिका–९ का २४ वर्षीय मन्दिप कुमार यादवलाई दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ।

मन्दिपलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट सोमबार पक्राउ गरेको हो। महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार मन्दिपले आफ्नो अपराध स्वीकार गरेका छन्।

अनु राय महोत्तरी गाउँपालिका–४ की निवासी हुन्। उनको शव असोज २३ मा जंगलमा फेला परेको भए पनि शवको पहिचान एक सातापछि, असोज २८ गते उनका बुबाले गरेका थिए।

प्रहरी अनुसन्धानले अनु र मन्दिपबीच प्रेम सम्बन्ध रहेको र दुबै जनाले विवाह गर्ने योजना बनाएको खुलासा गरेको छ। विवाहको विषयमा असोज २२ गते टुटेश्वर मन्दिर गएको बेला विवाद भएपछि, फर्किने क्रममा मन्दिपले डोरीले घाँटी कसेर अनुको हत्या गरेको बताइएको छ।

मन्दिपलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!