सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।
नेकपा एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरेको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू गरी २४ जना सदस्य छन्। यसअघि पदाधिकारी टोलीमा उपमहासचिवसम्मका नेताहरू मात्र सहभागी थिए। तर, यसपटक सचिवहरूको समावेशसहित सचिवालय विस्तार गरिएको छ।
सचिवालयका सदस्यहरू
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र भानुभक्त जोशी छन्।
त्यसैगरी, महासचिवमा घनश्याम भुसाल रहेका छन् भने उपमहासचिवमा राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी र रामकुमार भट्टराई छन्। सचिवहरूको सूचीमा सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर रहेका छन्।
यससँगै एकीकृत समाजवादीले आफ्नो सांगठनिक संरचनालाई थप विस्तार र मजबुत बनाएको प्रवक्ता खतिवडाले बताए।