सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।
मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँचलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा जनकपुरधाममा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्।
नेपाल सरकारले विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम मधेश प्रदेशको कुनै पनि जिल्लामा लागू नभएको भन्दै यसलाई अविलम्ब कार्यान्वयन गर्न सुझाव दिइयो।
तथ्यांकअनुसार मधेश प्रदेशमा ११.५६ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बीमा गराएका छन्। मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले स्वास्थ्य बीमा गराउन नसक्ने परिवारलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। उनले कार्यक्रम प्रभावकारी बनाउन ३ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिँदै विपन्न नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन रकमान्तर गरेर भए पनि सहयोग गर्ने बताए।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले मधेशमा उच्च तथा निम्न वर्गका व्यक्तिहरू स्वास्थ्य बीमाको पहुँचमा आउन नसकेको उल्लेख गरे। त्यस्तै, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहले बीमा गराए पनि नवीकरण नगर्ने समस्यालाई हटाउन सेवा तथा सुविधाको विस्तार आवश्यक रहेको बताए।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि डा. समीर अधिकारीले १ लाख विपन्न र १६ लाख ५४ हजार ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्दा शतप्रतिशत बीमाको स्थिति देखिएको तर रकम खर्च गर्नुपर्ने भएकाले धेरैले बीमा गराउन नचाहेको धारणा राखे।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा. जामुनप्रसाद सिंहले मधेशमा गरिब तथा विपन्नको जनसंख्या अत्यधिक भएकाले बीमा गराउनेको संख्या कम भएको भन्दै विपन्नका लागि लक्षित बीमा कार्यक्रम अविलम्ब लागू गर्न सुझाव दिए।
कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच विस्तारका लागि सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका छन्।