Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय लुटेरा आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्र पासवानको कमाण्डमा खटिएको टोलीले आरिफ हुसेनलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट आइतबार बिहान ४ बजे पक्राउ गरेको हो।

आरिफ हुसेन नेपालका विभिन्न जिल्लामा लुटपाट, डकैती तथा संगठित अपराधमा संलग्न रही फरार अभियुक्त हुन्। गोप्य सूचनाका आधारमा घाइते अवस्थामा भारतबाट नेपालतर्फ भाग्दै गरेका हुसेनलाई सिरहा नगरपालिका–१७ माडर स्थित दशगजा नजिक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ लगत्तै हुसेनको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेकोले उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चया पठाइएको छ।

आरिफ हुसेनले गत वर्ष जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकबाट ३८ लाख रुपैयाँ नगद र बैंक कर्मचारीको मोबाइल लुटपाट गरी फरार भएका थिए। त्यस्तै, सिरहाको मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लुटेका थिए। भारत बिहारको मधुबनी जिल्लामा पनि हातहतियार, लुटपाट लगायतका मुद्दामा उनीमाथि अभियोग दर्ता रहेको छ। भारतीय प्रहरीले उनलाई पक्राउ गर्नेलाई २५ हजार रुपैयाँको इनामसमेत घोषणा गरेको थियो।

डिएसपी वीरेन्द्र पासवानको नेतृत्वमा विशेष सूचनाका आधारमा गरिएको यस सफल अपरेसनले दुई देशका प्रहरीबीच समन्वय र अपराध नियन्त्रणमा थप सफलता प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *