सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।
भारत उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउन लागेका छन्। जानकी मन्दिर परिसरमा यही पुस ६ र ७ गते हुन गइरहेको दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको उद्घाटनमा सहभागी हुन उनी जनकपुरधाम आउने भएका हुन्।
शनिवार हुने काँन्क्लेवको समुद्घाटन कार्यक्रमबारे जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मुख्यमन्त्रीको भ्रमण मङ्गलवार टुंगो लाग्ने बताएका छन्।
तीन वर्षअघि विवाह महोत्सवमा आएका योगी
मुख्यमन्त्री योगी आदित्यनाथ यसअघि तीन वर्षअघि सीताराम विवाह महोत्सवमा सहभागी हुन मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा जनकपुरधाम आएका थिए।
रामायण काँन्क्लेवको विशेष कार्यक्रमहरू
भारत उत्तरप्रदेश सरकारको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा यो काँन्क्लेव हुन लागेको हो। कार्यक्रममा उत्तरप्रदेश राज्यका मन्त्रीहरू समेत सहभागी हुने जनाइएको छ। काँन्क्लेवको उद्घाटन सत्रको अध्यक्षता मधेश प्रदेशकी राज्यपाल श्रीमती सुमित्रा भण्डारीले गर्नेछिन्। कार्यक्रमका मुख्य अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह रहनेछन्।
काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटाको भजन सन्ध्या प्रमुख आकर्षण रहनेछ। साथै, मिथिला नाट्यकला परिषदले जानकी लीला नाटक र मथुराको बमर सिया तथा धोबियाले लोकनृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
रामायण सर्किट र जनकपुरधाम
भारत सरकारले रामायणमा आधारित धार्मिक तथा सांस्कृतिक महत्व भएका स्थलहरूलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न रामायण सर्किट परियोजना सञ्चालन गरेको छ। यसमा जनकपुरधाम र धनुषाधाम प्रमुख स्थलहरूमा समावेश छन्।
अयोध्या र जनकपुरधामबीचको ऐतिहासिक सम्बन्धले यो काँन्क्लेवलाई थप विशेष बनाएको छ। त्रेतायुगमा भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह सम्पन्न भएको धार्मिक कथा यो सम्बन्धको आधार हो।
यो काँन्क्लेव भारतका ६ राज्य र श्रीलंकासहित १० स्थानमा आयोजना गरिने कार्यक्रमको एक हिस्सा हो।