Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचारमा संलग्नलाई आजीवन कारावासको सजाय दिनुपर्ने सुझाव दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा सोमवार आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो प्रस्ताव अघि सारेका हुन्।

मुख्यमन्त्री सिंहले हालको कानूनी व्यवस्था अपर्याप्त रहेको बताउँदै भ्रष्टाचार गर्नेलाई ५ देखि १० वर्षको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे। उनले राजनीतिक क्षेत्रमा तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमै जीवनशैलीमा आएको परिवर्तन र विलासी जीवनले भ्रष्टाचारलाई प्रश्रय दिने तर्क गर्दै कडा कारबाहीको आवश्यकता रहेको बताए।

उनले कर्मचारीको तलब वृद्धि गरी जीवनयापन सहज बनाउने हो भने भ्रष्टाचारमा कमी आउने दाबी समेत गरे।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेलाई मुलुकमा सुशासन नचाहेको आरोप लगाए। चन्दले बेनामी उजुरी नपरे भ्रष्टाचार बढ्ने खतरा रहेको बताए।

सो कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, अर्थमन्त्री सुनिलकुमार यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, श्रम तथा यातायात मन्त्री कौशल किशोर रायसहित प्रदेश सरकारका अन्य मन्त्रीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया, जिल्ला समन्वय समिति धनुषाका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह र विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *