सामाजिक फीड-
जनकपुरधाम,पुष १ गते ।
जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा आइतबार “मिथिला कला, संस्कृति र भाषा संरक्षण” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले मिथिलाको कला, दर्शन र भाषालाई पाठ्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिए। उनले मौलिक कलाको अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्ने बताए।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले जटजटिन, झिझिया, समेवा चकेवा जस्ता मौलिक संस्कृति संरक्षणमा प्रतिष्ठानको अग्रसरता आवश्यक रहेको उल्लेख गरे। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुशमा महरा प्रगतिले कलाकारलाई राज्यको अंगका रूपमा लिँदै अन्तरप्रदेशीय सांस्कृतिक आदानप्रदानको महत्वबारे धारणा राखिन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले मिथिला संस्कृतिको उजागर, अनुसन्धान र प्रदर्शनमा जोड दिए।
कोषका अध्यक्ष जीवनाथ चौधरीले अवसर वितरणमा समानता हुनुपर्नेमा जोड दिदै, मिथिलामा हरेक क्षेत्रमा प्रतिभाको अभाव नरहेको बताए।
कार्यक्रममा प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झा, साहित्यकार परमेश्वर कापडि, मेयर मनोजकुमार साहलगायतले मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा अध्ययन, अनुसन्धान, प्रकाशन, चित्रकला प्रदर्शन, कार्यशाला गोष्ठी तथा सेमिनार आयोजना गर्न प्रतिवद्ध योजनाहरू सार्वजनिक गरियो।