सामाजिक फीड-
जनकपुरधाम, मंसिर ३० गते ।
गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिने बताएका छन्।
आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको जानकारी दिए। उनले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको र यसलाई समन्वयबाट अघि बढाइने स्पष्ट पारे।
गृहमन्त्री लेखकले संविधान संशोधन दुई दलले मात्र गर्ने नभई सबै राजनीतिक दलहरूसँगको सहकार्यमा सम्पन्न गरिने बताए। संविधान अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई विश्लेषण गरी संविधानलाई थप सुदृढ बनाइने उनको भनाइ छ।
संविधान संशोधनका प्राथमिकता
उनले भने, “हामीले संविधान संशोधन संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई बलियो बनाउनका लागि गर्ने हो। संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरु भइसकेको छ। सबै दलहरूसँग वार्ता, संवाद, र छलफल गरेर सहमतिमा आधारित संशोधन प्रक्रिया अघि बढाउँछौँ।”
सरकार परिवर्तनको सम्भावना अस्वीकार
गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रस्ट पारे। एमाले र कांग्रेसबीचको सहमतिअनुसार नै सरकार अघि बढ्ने उनको दाबी छ।
यो पहल संविधानको १० वर्षको अनुभवको समीक्षा र त्यसबाट प्राप्त पाठहरूलाई समेटेर अघि बढाइने गृहमन्त्री लेखकले बताए।