सामाजिक फीड-
२८ गते जनकपुरधाम
धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो।
बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका मेयर विनय कुमार यादव र लक्ष्मीनियाका अध्यक्ष भोगेन्द्र मिश्र कांग्रेसबाट छन् भने क्षीरेश्वरनाथका मेयर सुकदेव यादव नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन्।
नगराइन र लक्ष्मीनियामा कांग्रेसका मेयर भए पनि बहुमत नरहेको र क्षीरेश्वरनाथमा एमालेका मेयर भए पनि बहुमत कांग्रेसको भएकाले पालिकामा विवाद चर्किएको हो। बहुमत दलले मेयरलाई आफ्नो अनुकूल चलाउन खोज्दा समस्या झन् बल्झिएको छ।
लक्ष्मीनियामा प्रमुख प्रशासकीय अधिकृतको विषय विवादको केन्द्र बनेको छ। प्रमुख प्रशासकीय अधिकृत परिवर्तनको मुद्दामा अदालतबाट स्थगन आदेश आउने र संघीय मन्त्रालयको हस्तक्षेपले विवाद उत्पन्न भएको छ।
नगराइन नगरपालिकामा विकास योजना अनुगमन तथा उपभोक्ता समिति गठन सम्बन्धी कार्यविधि संशोधन गरी उपमेयरले अनुगमन गर्ने र वडा अध्यक्षको सिफारिसमा उपभोक्ता समिति गठन गर्ने सहमति भएको छ।
बैठकमा बजेट विनियोजनका पदाधिकारीहरुले आफ्नो अनुकूल उपभोक्ता समिति गठन गर्न सक्ने र अनुगमनको काम उपमेयरले गर्ने सहमति पनि भएको छ। एमाले र कांग्रेसका नेताहरुले विवाद सुल्झाएर विकास निर्माणका कार्य अघि बढाउने प्रतिवद्धता जनाएका छन्।
तीनै पालिकामा विवादका कारण नगर परिषद् हुन नसकेको र कार्यालयमा तालाबन्दी भएकाले सामाजिक सुरक्षा भत्ता र शिक्षकहरूको तलब अवरुद्ध भएको छ। शिक्षकहरु धर्ना र घेराउमा उत्रिएका छन्।
बैठकमा प्रमुख दलका नेताहरुले सहमति गरे पनि कार्यान्वयनमा अझै अन्योल रहेको देखिएको छ। वडाअध्यक्षहरुले बजेट र कर्मचारी व्यवस्थापनमा अनधिकृत माग राखेको भन्दै मेयरहरुले गुनासो गरेका छन्।
विवाद समाधानका लागि सहमतिका आधारमा कार्यदल बनाउने र आवश्यकता अनुसार थप संवाद गर्ने सहमति बैठकमा भएको छ।