सामाजिक फीड-
२५ गते जनकपुरधाम
धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। पार्टीको विधान विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसको धनौजी गाउँ कार्य समितिले मण्डललाई कारबाहीको लागि पत्राचार गरेको हो।
गाउँ सभापति रामनारायण यादवका अनुसार, मंसिर २२ गते बसेको गाउँ कार्य समितिको बैठकले उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार, पार्टीका विभिन्न संरचनामा कारबाहीको लागि पत्राचार गरिएको छ।
मण्डलले आफ्नै पार्टीका गाउँपालिका अध्यक्ष राजकुमार साहविरुद्ध विभिन्न गतिविधि गर्दै आएको आरोप लगाइएको छ। उनले अध्यक्ष साहलाई असहयोग गर्नुका साथै अनियमितता र अपारदर्शी कार्यशैली रहेको भन्दै सूचना अधिकार प्रयोग गरी उजुरी पनि दिएकी थिइन्।
यसअघि, नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिले मण्डलविरुद्ध प्रदेश कार्यालय, जिल्ला समिति, र क्षेत्रीय समितिलाई पत्र पठाएको थियो। पार्टीका नेताहरूले मण्डलको गतिविधिले कांग्रेसको आन्तरिक अनुशासनमा असर परेको बताएका छन्।