सामाजिक फीड,
मंसिर २४ ,जनकपुरधाम।
डिभिजन वन कार्यालय धनुषाले सर्पको संरक्षण र उद्धारमा विशेष ध्यान दिएको छ। पछिल्लो तीन महिनाको अवधिमा ८ वटा सर्पको सफलतापूर्वक उद्धार गरिएको छ। कार्यालय प्रमुख विनोद सिंहका अनुसार सर्पलाई अकारण हानि पुर्याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सर्प संरक्षणलाई प्राथमिकतामा राखिएको छ।
सर्प उद्धारमा सक्रिय वन रक्षक आकाशकुमार यादवले विशेष भूमिका निर्वाह गरिरहेका छन्। यादवले विगत केही वर्षदेखि सर्प उद्धारमा निरन्तर योगदान दिँदै आएका छन्। हाल उद्धार गरिएका सर्पहरूको रेकर्ड राख्ने कार्य पनि सुरु गरिएको छ। सिंहले भने, “सर्पले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ। यो केवल प्रकृतिका लागि मात्र नभई मानव जीवनका लागि पनि लाभदायक छ।”
संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्प छन् भने नेपालमा हालसम्म ८० प्रजातिका सर्प फेला परेका छन्। जानकारहरूका अनुसार पर्याप्त अध्ययन भए नेपालमा सर्पका प्रजाति डेढ सयसम्म पुग्न सक्छ।
सर्पले अन्न नष्ट गर्ने मुसा तथा अन्य जीवजन्तुको संख्यालाई नियन्त्रण गर्न सहयोग गर्छ। वैज्ञानिकहरूका अनुसार ५० प्रतिशत अन्न मुसाका कारण नष्ट हुने गरेको छ। एक जोडी मुसाबाट एक वर्षमा १५ सय मुसा जन्मिने तथ्यले मुसा नियन्त्रणमा सर्पको भूमिका कत्तिको महत्त्वपूर्ण छ भन्ने देखाउँछ।
सर्पको औषधीय उपयोगिता
सर्पको विषबाट तयार गरिने औषधिहरू आधुनिक चिकित्सा क्षेत्रमा उपयोगी छन्। सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी-स्नेक भेनमदेखि क्यान्सरको दुखाइ कम गर्ने औषधि कोब्रोक्सिन पनि सर्पको विषबाट बनाइन्छ। आयुर्वेदिक र होमियोप्याथिक औषधिमा सर्पका बोसो, काँचुली, रगत, र विषलाई महत्त्वपूर्ण मानिन्छ।
नेपालमा ८१ प्रजातिका सर्पमध्ये १८ प्रजाति विषालु छन्। गोमन, करेत, मुगा सर्प र रुसी भाइपर विषालु प्रजातिका मुख्य सर्प हुन्। जनकपुरधाम क्षेत्रमा उद्धार गरिएका सर्पमध्ये केवल ७ प्रतिशत मात्र विषालु रहेको जनाइएको छ। वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहका अनुसार सर्पदंशको उपचारका लागि भगतको भर पर्नुभन्दा अस्पतालमा उपचार गराउँदा बाँच्ने सम्भावना उच्च हुन्छ।
हिन्दू र बौद्ध धर्ममा सर्पलाई पवित्र मानिन्छ। प्रत्येक वर्ष नागपञ्चमीका दिन सर्पको विशेष पूजा गरिन्छ। पौराणिक कथाहरूमा शेषनाग, वासुकीनाग, र नागमालाको महत्त्व उल्लेख छ।
डिभिजन वन कार्यालय धनुषाले सर्पको महत्त्वबारे जनचेतना फैलाउँदै संरक्षणमा अग्रसरता देखाएको छ।