Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

मंसिर २४ ,जनकपुरधाम।

जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरस्थित कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन्। आईतवार बिहान गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको शव झुण्डिएको अवस्थामा फेला परेको हो।

हनुमान मन्दिरमा पूजा गर्न बिहान पुगेका भक्तजनहरूले कभर्ड हलको झ्यालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घाँटीमा नाइलनको डोरीको पासो लगाइएको अवस्थामा झाको शव फेला परेको थियो। घटनाको खबर फैलिएपछि ठूलो संख्यामा नगरवासी घटनास्थलमा जम्मा भएका थिए।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–3, गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत थिए। उनी परिवारसहित अस्पताल प्रशासनले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए। परिवारजनले झाको हत्या भएको दाबी गरेका छन्। मृतकका जेठान फुल कुमार झाले झाको हत्या गरी आत्महत्या जस्तो देखाउन झुण्ड्याइएको आरोप लगाए। उनले घटनाको उच्च स्तरीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

घटनास्थलमा पुगेका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले घटनालाई शंकास्पद बताउँदै सूक्ष्म अनुसन्धानको माग गरेका छन्। राजविराज नगरपालिकाले सुरक्षा संवेदनशीलता बढाउन ७४ स्थानमा सिसि टिभी जडान गरे पनि हाल २९ वटा मात्र चालु अवस्थामा रहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीले घटनास्थल आसपासका चालु सिसि टिभी फुटेजको अध्ययन सुरु गरेको जनाएको छ।

प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार मृतक झाको गोजीबाट सुसाइड नोट फेला परेको छ। नोटमा झाले आफ्ना समस्या र विभिन्न व्यक्तिसँगको लेनदेनबारे उल्लेख गरेका छन्। यद्यपि, उक्त सुसाइड नोट झाको हस्तलिखित हो वा होइन भन्ने विषय थप अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ।

घटनापछि आक्रोशित परिवारजनले केही समय शव उठाउन अवरोध गरे। प्रहरी उपरीक्षक खतिवडाले सूक्ष्म अनुसन्धानको प्रतिबद्धता जनाएपछि शव उठाउन दिइएको थियो। झाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *