Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

मंसिर २४ ,जनकपुरधाम।

लालबन्दी नगरपालिका-९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका तीन छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरी उदाहरणीय कार्य गरेका छन्। कक्षा १२ का छात्र पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा निर्माण गरेको यो ट्रयाक्टरले साना किसानलाई खेतीपातीमा सहुलियत दिनेछ।

१२ भोल्टेजको चार ब्याट्री प्रयोग
इलेक्ट्रिक पाटो सम्हाल्ने छात्र आशिष महतोका अनुसार ट्रयाक्टरमा १२ भोल्टेज, १५० एम्पियरका चारवटा ब्याट्री प्रयोग गरिएको छ। तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली, खेत जोत्न रोटाभेटर तथा हाइड्रोलिकको सहायताले ट्रली खन्याउने सुविधा समेत उपलब्ध छ।साना किसानका लागि खेत जोत्न, गोडमेल गर्न तथा बालीनाली बजारसम्म लैजान यस ट्रयाक्टरले सहज बनाउँछ,” छात्र पल्लव कौशिकले बताए। यसले ६ क्विन्टलसम्म सामान बोक्न सक्छ भने एक पटक चार्ज गर्दा १९० किलोमिटरसम्म गुड्न सक्ने दाबी गरिएको छ।

कवाडी सामानबाट निर्माण….
कवाडी मोटरसाइकलका पाटर््स, फलामका टुक्रा र काठको प्रयोग गरी निर्माण गरिएको ट्रयाक्टरमा १ लाख १५ हजार रुपैयाँभन्दा बढी खर्च भएको छ। छात्र नवराज बस्नेतका अनुसार आगामी दिनमा अझ कम लागतमा ट्रयाक्टर निर्माण गर्न सम्भव हुनेछ।

वैज्ञानिक महावीर पुनको समर्थन….
विद्यालयका प्रधानाध्यापक राजु पञ्जियारका अनुसार छात्रहरूको क्षमता उजागर गर्न इभी निर्माणमा प्रोत्साहन गरिएको हो। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले ट्रयाक्टरलाई थप स्तरीय र व्यावसायिक बनाउने प्रतिबद्धता जनाएका छन्।छात्रहरूले गत साता बलरा नगरपालिका-४ गडहिया डुमरियामा आयोजित जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा ट्रयाक्टर प्रदर्शन गरे। प्रदर्शनीमा अभिभावक र शिक्षकले विद्यार्थीहरूको उपलब्धिलाई खुसी व्यक्त गरेका थिए।इन्धनको सट्टा ब्याट्रीको प्रयोग भएकाले यो ट्रयाक्टर वातावरणीय हिसाबले उपयुक्त र किफायती छ। डिजल र पेट्रोलको तुलनामा यो धेरै किफायती हुने दाबी विद्यार्थीहरूले गरेका छन्।छात्रहरूको मेहनत र क्षमतालाई अझ परिस्कृत गर्दै व्यावसायिक उत्पादनतर्फ लैजाने योजना विद्यालयले अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *