Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

मंसिर २४ ,जनकपुरधाम।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लादोबेलाको मुस्लिम बस्तीमा ३० वर्षअघि बिक्री गरिएको जमिनको हिस्सा खोज्न नाति आएपछि स्थानीय समुदाय चिन्तित भएका छन्। जमिनदार हरिहरप्रसाद रेग्मीको नाति विनोद साह नामका व्यक्तिले, १८ कट्ठा जमिनको १४ धुर हिस्सा आफ्नो दाबी गर्दै नापी अमिनसँग मिलेर नापी गर्ने प्रयास गरेपछि लादोबेलाका बासिन्दा त्रसित भएका छन्।

स्थानीयहरूको अनुसार, ३० वर्ष अघि हरिहरप्रसाद रेग्मीले उक्त जमिन विभिन्न परिवारलाई बेचेका थिए र उक्त जमिन रजिस्टर्ड भएको थियो। तर हालका दिनमा रेग्मीका नातिको वारिसनामा लिएको दाबीको विरोध गर्दै स्थानीयहरूले जमिन छुट्याइदिने र बाँकी रहेको हिस्सा उनका दावीअनुसार लैजान दिने प्रस्ताव गरेका छन्।

करिब एक महिना अगाडि विनोद साह र नापी अमिन बस्तीमा पुगेर जमिन नाप्न थालेपछि स्थानीयहरूले प्रहरी कार्यालयमा सहयोगको लागि निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले यस विषयमा २६ गते छलफलको समय तोकेको थियो। तर, सोही दिन राति प्रहरी टोली स्थानीय बस्तीमा आएर घर घरमा गएर दबाब दिने प्रयास गरेको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेर गुनासो गरेका छन्।

स्थानीय राइनले भने, “हामीले ३० वर्षअघि जमिन खरिद गरेका थियौँ, र अहिले हाम्रो घर र जग्गाको सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग न्यायको माग गर्दैछौँ।”

प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै स्थानीय रञ्जित चौधरीले भने, “चर्चा गर्न तोकिएको समयमै प्रहरी राति घरमा गएर धम्क्याउँदा हामीलाई मानसिक यातना दिइरहेका छन्।”

लादोबेला बस्तीमा ४० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन्, र उनीहरूले प्रशासनसँग न्यायपूर्ण समाधानको अपेक्षा गरेका छन्। यस घटनाले स्थानीय समुदायमा प्रहरी प्रशासनको कार्यप्रति गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *