सामाजिक फीड-
जनकपुरधाम, मंसिर २० गते
गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।
वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा आफू गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्रीले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू सक्रिय रहेको जानकारी दिए।
उनले सामाजिक सञ्जाल र डिजिटल मिडियाबाट महिलामाथि हुने हिंसा, दुर्व्यवहार तथा घृणात्मक अभिव्यक्ति नियन्त्रणका लागि पहल भइरहेको बताए। ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ,’ गृहमन्त्री लेखकले भने।
समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संविधानको भावना अनुरूप एकीकृत निर्वाचन विधेयक तयार पार्दै आगामी संघीय संसदमा पेस गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।
ध्यानाकर्षणपत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासंघसहित २६ संस्थाका प्रतिनिधि गृहमन्त्रालय पुगेका थिए।