सामाजिक फीड-
१९ गते जनकपुरधाम
सीताराम विवाहपञ्चमीको मुख्य तीन दिनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा, माछा, मासु, पशुपक्षीको मारकाट तथा अन्य नसालु पदार्थको उत्पादन र सेवन पूर्ण रूपमा निषेध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाद्वारा जारी सूचनामा तोकिएको क्षेत्रभित्र यस प्रतिबन्धको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
त्रेतायुगमा भगवान श्रीराम र माता सीताको विवाह मंसिर शुक्ल पञ्चमीको तिथिमा भएको पौराणिक मान्यता छ। यसै ऐतिहासिक र धार्मिक घटनालाई स्मरण गर्दै मिथिलाको सांस्कृतिक पर्वको रूपमा जनकपुरधाममा विवाहपञ्चमी धूमधामका साथ मनाइन्छ।
अनुशासन कायम राख्न प्रशासनको कडा कदमले धार्मिक पर्वलाई व्यवस्थित र पवित्र बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।