सामाजिक फीड-
१८ गते जनकपुरधाम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन्। निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबले पार्टीले सन्तोषजनक नतिजा हासिल गरेको उनले बताएका छन्।
आज जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डले भनेका छन्, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पका रूपमा लिएको थियो। खासगरी सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउने अवसरका रूपमा उपनिर्वाचनलाई लिएका थियौं।”
उनका अनुसार विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै माओवादी केन्द्रले अघि सारेका एजेन्डा र अभियानको जनताबाट अनुमोदन भएको प्रमाणित भएको छ।
अध्यक्ष प्रचण्डले आगामी दिनमा सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित हुँदै निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवामा पूर्णरूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
उपनिर्वाचनमा प्राप्त सफलताले पार्टीको आगामी बाटो र दृष्टिकोण थप सुस्पष्ट गरेको उनले बताए।