सामाजिक फीड-
१८ गते जनकपुरधाम
नेपाल र चीनबीच मंगलबार ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चीनका विदेश मन्त्रालयका प्रतिनिधिहरूले ती समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालका अनुसार दुई प्रधानमन्त्रीहरूबीच सौहार्दपूर्ण छलफलपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रहरूमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्र आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धि, बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्र आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयम्सेवी चिनियाँ भाषा शिक्षक कार्यक्रम र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी रहेका छन्।
ढकालका अनुसार वार्तामा कनेक्टिभिटी, औद्योगिक तथा पूर्वाधार विकास, मेडिकल सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, गरिबी निवारण, र जनस्तरमा सम्बन्ध विस्तारजस्ता विषयमा थप सहयोग आदानप्रदान गर्ने सहमति भएको छ।
उनले नेपाल र चीनको सम्बन्धलाई अझ उचाइमा पुर्याउन यी सम्झौताले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।