Skip to main content

सामाजिक फीड-
१६ गते जनकपुरधाम

सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीया रोजिनादेवी महतो आइतबार बिहान पौने ९ बजे उक्त खाल्डोमा चिप्लिएर खसेपछि मृत्यु भएको हो।

स्थानीयका अनुसार, रोजिनादेवी हातेकलमा पानी लिएर फर्किने क्रममा खाल्डोमा खसेकी थिइन्। पानीमा डुबिरहेको देखेपछि उनलाई मिर्चैया अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुका अनुसार, मृतकको शव पोस्टमोर्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ।

घटनाप्रति आक्रोशित बनेका स्थानीयले नगरपालिकाको लापरबाहीलाई दोष दिएका छन्। एक वर्षअघि नाला निर्माण गर्ने भन्दै खनेको खाल्डो पूरिने काम अधुरो राखिएको र त्यसले दुर्घटना निम्त्याएको उनीहरूको भनाइ छ। मृतकका श्रीमान् जीवछ महतोले दोषी नगरपालिकालाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

“यो घटना नगरपालिकाको लापरबाहीले भएको हो,” महतोले बताए, “ठेकेदार र नगरपालिकालाई कारबाही गर्दै हामीलाई न्याय दिलाउनुपर्छ।”

हालसम्म मृतकका आफन्तले शव बुझेका छैनन्। स्थानीयले क्षतिपूर्ति र दोषीमाथि कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *