Samajik Feed – News Portal from Nepal

रजत कर्ण l

विवाहपञ्चमी महोत्सवको समयमा जनकपुरधाममा केही विशेष परम्पराहरू छन्, जसले यो उत्सवलाई अन्य क्षेत्रका पर्वभन्दा फरक र अद्वितीय बनाउँछ । अहिले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक मानिने विवाहपञ्चमी महोत्सवको क्रममा जनकपुरधाममा विशेष उत्साह र उमंग छाएको छ। सीता र रामको पवित्र विवाहको सम्झनामा मनाइने यो महोत्सव स्थानीयवासीहरू, श्रद्धालु र पर्यटकहरूको ठूलो सहभागिताका साथ मनाइँदैछ।

मिथिलाको गौरव…….
जनकपुरधामका स्थानीय बासिन्दाका अनुसार उहाहरुले माता सीतालाई बहिन र रामलाई पाहुनको रुपमा पुजा गरिन्छ छ।जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत, सीता-रामको विवाहको परम्परागत शैलीमा पुन:मञ्चन (रिहर्सल) गरिन्छ।

स्थानीय कलाकारहरूले रामायणका पात्रहरूको भेषमा रामले धनुष भंग गरेको क्षणदेखि विवाहसम्मका सबै परम्परागत गतिविधिहरू प्रस्तुत गर्छन्। यो सांस्कृतिक कार्यक्रमले श्रद्धालुहरूलाई प्राचीन मिथिलाको यथार्थ झल्काउँछ। महोत्सवको क्रममा भक्तहरूले जनकपुरधाम वरपरको पञ्चकोसी परिक्रमा गर्छन्। यस यात्राले आध्यात्मिक शुद्धि र धार्मिक पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ।

परिक्रमा गर्ने मार्गमा ऐतिहासिक पोखरीहरू र धार्मिक स्थलहरूको यात्रा गरिन्छ।विवाहपञ्चमी महोत्सवको विशेष आकर्षण मिथिला क्षेत्रका महिलाहरूको सहभागिता हो। उनीहरू पारंपरिक पोशाकमा सजिएर विवाहको रीति-रिवाज र गीतगाउँदैं विवाहका गतिविधिहरू सम्पन्न गर्न मुख्य भूमिका खेल्छन्। यो परम्पराले मिथिला संस्कृतिमा महिलाहरूको योगदानलाई झल्काउँछ।

जानकी मन्दिरको विशेष पूजा………
विवाहपञ्चमीको दिन जानकी मन्दिरमा विशेष पूजा, आरती र झाँकी प्रदर्शन गरिन्छ। मन्दिर परिसरका पुजारीहरूले यो दिन रामायणका कथाहरू वाचन गरेर श्रद्धालुहरूलाई धार्मिक महत्त्व बुझाउँछन्।

सुधारका प्रयासहरू आवश्यक……
महानगरका स्थानीयहरूले महोत्सवलाई अझ प्रभावकारी बनाउन केहि सुझावहरू पनि दिएका छन्। महोत्सवमा मिथिलाको पारंपरिक पहिरनलाई प्रोत्साहन गर्नु, सांस्कृतिक प्रतियोगिताहरूको आयोजना गर्नु, रामायणसँग सम्बन्धित नाटक तथा चित्रकला प्रदर्शनीहरू थप गर्नु जस्ता सुधार गर्नुपर्ने अवसकता रहेको छ भने साथै, स्थानीय हस्तकला, मिथिला भोजन र अन्य परम्परागत उत्पादनहरूलाई समेट्दै, महोत्सवलाई व्यापारिक र सांस्कृतिक दृष्टिले उन्नत बनाउन सकिन्छ। यसले पर्यटकहरूको आकर्षण मात्र बढाउँदैन, स्थानीय उद्योग र व्यवसायलाई पनि प्रोत्साहन दिन्छ।

व्यवस्थापन र प्रवर्द्धनको आवश्यकता…….
महोत्सवको सफलता सुनिश्चित गर्न सरसफाइ, सुरक्षा र पर्यटकहरूको बसोबासको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। भीड व्यवस्थापन र सुरक्षा उपायहरूको प्रभावकारी कार्यान्वयनले महोत्सवलाई थप व्यवस्थित बनाउन मद्दत गर्नेछ।विवाहपञ्चमीमा भारतको अयोध्या, मिथिला क्षेत्र र अन्य हिन्दू धर्मावलम्बी मुलुकहरूबाट श्रद्धालुहरू जनकपुरधाम पुग्छन्। विशेष गरी राम-जानकी मार्ग हुँदै यात्रा गर्ने समूहले महोत्सवलाई अन्तर्राष्ट्रिय आयाम प्रदान गरेको छ।
यसरी, विवाहपञ्चमी महोत्सव केवल एक धार्मिक उत्सव मात्र नभई, मिथिलाको परम्परा, आस्था, र सांस्कृतिक धरोहरलाई जीवित राख्ने महत्त्वपूर्ण माध्यम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!