सामाजिक फीड-
१३ गते जनकपुरधाम
महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीको संलग्नतामा घुसखोरीको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण मागेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अशोककुमार यादवलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेपछि कवारी विवादमा परेका हुन्। यादवले दिएको बयानअनुसार कवारीले पनि घुसको हिस्सा लिने गरेको बताएका छन्।
कवारीमाथि यसअघि सिरहामा सीडीओ हुँदा पनि घुस लेनदेन र विवादास्पद अडियोका कारण कारवाही भोगिसकेको थियो। महोत्तरीमा सरुवा भएर आएपछि उनले थप विवाद उत्पन्न गरेका छन्। सर्वसाधारणले नागरिकता, मुद्दा लगायतका काममा घुस नदिई काम नहुने गुनासो गरेका छन्।
गृहमन्त्रालयले रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा जारी उपनिर्वाचनका कारण कवारीको सरुवा तत्काल रोकिएको तर निर्वाचनपछि कारवाही हुने संकेत दिएको छ।
त्यस्तै, पर्साका सीडीओ गणेश अर्यालले अस्पताल तोडफोड सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिका कारण गृहमन्त्री लेखकको आलोचनाको शिकार बनेका छन्। अर्यालमाथि सेवाग्राहीप्रति गम्भीर नभएको, मर्यादित रूपमा बोल्न नसकेको, र अनावश्यक सम्पर्क बढाएको आरोप छ।
मधेश प्रदेशका संवेदनशील जिल्ला महोत्तरी र पर्साका सीडीओहरूलाई मन्त्रालयले आइन्दा गम्भीर भएर काम गर्न चेतावनी दिएको छ। हाल दुबै सीडीओ आफ्नो कार्यक्षेत्रमा फर्किएका छैनन्।