Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१२ गते जनकपुरधाम

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ निवासी दुःखि ठाकुर नामका एक धामीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा लहान प्रहरीले पक्राउ गरेको छ।

ठाकुरले बच्चा नहुने महिलाहरुलाई ‘पेटमा बच्चा हुने’ भनेर औषधि दिने, मन्त्र फुक्ने र त्यसका लागि ३५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न जिल्लाका महिलाहरुबाट उनले ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

सोहजनको लस्सा खुवाउँदै ठगी..
पीडित महिलाहरुका अनुसार ठाकुरले औषधिको नाममा सोहजन (शीतलचीनी) को लस्सा खुवाउने गरेको थियो। एक महिलाले लस्साका लागि १ लाख रुपैयाँसम्म दिएको खुलासा गरिन्। औषधि सेवन गरेपछि बच्चा नहुने मात्र होइन, कैयाँै महिलाहरु विरामीसमेत भएपछि उनले झुटो आश्वासन दिएको पत्ता लागेको हो।

पक्राउ र ठगी मुद्दा दर्ता..
लहान प्रहरीले ठाकुरलाई ठगी आरोपमा नियन्त्रणमा लिई म्याद थप गरेको छ। पीडित महिलाहरुको सामूहिक उजुरीपछि उनलाई कानूनी कारबाही अगाडि बढाइएको हो।

परम्परागत धामी झाँक्रीप्रति भरोसा र ठगीको श्रृंखला..
तराई-मधेशका गाउँ क्षेत्रमा धामी झाँक्रीको नाममा गरिने ठगीको यो घटना नयाँ होइन। बिरामी हुँदा डाक्टरभन्दा पहिले धामीकहाँ जाने परम्परा अझै कायम छ, जसको फाइदा उठाउँदै यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन्। प्रशासनले यस्ता गतिविधिहरुमा प्रभावकारी नियमन गर्न नसकेको जनगुनासो समेत आएको छ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र पीडितहरुलाई न्याय दिलाउन प्रतिबद्ध रहेको जनाएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *