सामाजिक फीड-
१२ गते जनकपुरधाम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई थुनामा राखेर सुनियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले अनुसन्धान प्रक्रियालाई पूर्वाग्रही भनी आलोचना गर्दै, “सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबाट भाला हानेजस्तो काम भइरहेको छ,” भने।
झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरिएको चेक’ भन्ने दाबीमाथि प्रश्न उठाउँदै त्यसलाई सहकारीको किस्ता तिर्न प्रयोग गरिएको हुन सक्ने बताए। उनले नागरिक समाज र बुद्धिजीवीहरूको आग्रहमा पार्टीले सडक आन्दोलन रोक्ने निर्णय गरेको उल्लेख गर्दै, “लोकतन्त्रमा विश्वास राख्नेहरूको आग्रहलाई सम्मान गर्दै हामी चुप बसिरहेका छौँ,” भने।
सभापति रवि लामिछानेलाई कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराध आरोपमा कात्तिक २ गते पक्राउ गरेको थियो। पाँचपटक म्याद थप गराउँदै अनुसन्धान जारी छ। तर रास्वपाले यो प्रक्रियालाई राजनीतिक प्रतिशोधको रूपमा हेरिएको दाबी गर्दै अदालतको विषयलाई राजनीतिक रूपमा प्रचार गरिएको आरोप लगाएको छ।