Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१२ गते जनकपुरधाम

मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासका प्रचुर सम्भावनाहरू भए पनि तिनको सही सदुपयोग र व्यवस्थापनको अभावले प्रदेशको आर्थिक विकासमा बाधा पुगिरहेको बताएका छन्।

जनकपुरधाममा मंगलबार आयोजित ‘प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालाहरू संग कार्यशाला गोष्ठी’मा उनले योजनाहरू समयमा सम्पन्न नहुनु प्रदेशको विकासको प्रमुख चुनौती रहेको उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले राष्ट्रिय महत्वका योजनाहरू, विशेष गरी मधेश प्रदेशलाई संघीय राजधानीसँग जोड्ने फास्ट ट्र्याक र हुलाकी राजमार्गको समयमै निर्माण कार्य पूरा गर्न जोड दिए।

उनका अनुसार, यी योजनाहरूले न केवल प्रदेशको द्रुत आर्थिक विकासलाई प्रोत्साहन दिनेछन्, तर डिजेल र पेट्रोलको वार्षिक खपतमा समेत कमी ल्याएर ठूलो आर्थिक लाभ पुर्याउनेछन्।

कार्यक्रममा श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मधेश प्रदेशको आर्थिक उन्नतिका लागि कृषि, पर्यटन, र उद्योगको विकासका क्षेत्रमा ठोस नीति निर्माणको आवश्यकता औंल्याए। उनले संघ, प्रदेश, र स्थानीय तहबीच नीतिगत सुधार र कार्यगत सहकार्यको खाँचो रहेको धारणा व्यक्त गरे।

मुख्यमन्त्री सिंहले दिगो विकास र समृद्धिका लागि प्रभावकारी योजनाहरू सञ्चालनमा थप ध्यान दिनुपर्नेमा जोड दिंदै मधेश प्रदेशको विकासलाई राष्ट्रिय विकासको मेरुदण्ड बनाउन सकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!