सामाजिक फीड-
११ मंसिर जनकपुरधाम ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख जितेन्द्र यादवसहित चारजनालाई ठगी तथा सरकारी छाप र दस्तखत किर्ते प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ।
परिषद्का प्रमुख यादव, पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, र जिन्सी शाखा प्रमुख मदन चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको हो।
जाहेरी अनुसार आरोपितहरूले किर्ते दस्तखत र कागजात प्रयोग गर्दै ३० लाख रुपैयाँ ठगी गरेका छन्। महोत्तरीको एकडारा गाउँपालिकाका मुकेश यादवको नाममा किर्ते कागजात तयार पारेर रकम निकासा गरिएको थियो। मुकेश यादवले आफूलाई रकम निकासाको जानकारी नभएको भन्दै प्रहरीमा जाहेरी दिएका हुन्।
कागजातमा किर्ते र रकम हिनामिना
जाहेरीमा मुकेश यादवले परिषद्का कर्मचारीहरूले आफ्नो दस्तखत किर्ते गरी विभिन्न कागजात तयार पारेको दाबी गरेका छन्। उनीहरूको योजनाअनुसार, किर्ते सम्झौता पत्र र कार्यादेशमार्फत २०७६ सालमा ३० लाख रुपैयाँ निकासा गरिएको थियो। यादवले आफ्नो नाममा महिन्द्रा स्कार्पियो गाडीको किर्ते कागजात तयार गरी रकम हिनामिना गरिएको आरोप लगाएका छन्।
यस्तै, १० लाख रुपैयाँ मर्मत खर्चको नाममा अर्को भौचर बनाएर सरकारी रकम हिनामिना गरिएको थियो। २०७७ सालमा समेत दस्तखत किर्ते गरी बाँकी रकम लिएको विवरण यादवले जाहेरीमा समावेश गरेका छन्।
कार्यालयमा विवाद र राजनीतिक हस्तक्षेप
परिषद्भित्र लामो समयदेखि प्रशासनिक विवाद र राजनीतिक हस्तक्षेपका कारण दैनिक कामकाज प्रभावित हुँदै आएको छ। अध्यक्ष शीतल साह र कर्मचारीहरूबीचको मतभेदले काममा समस्या सिर्जना भएको कर्मचारीहरूको आरोप छ।
परिषद्बाट सरकारी छाप र दस्तखत किर्ते गर्दै ठगीको घटना सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापामारी गरी कागजातहरू नियन्त्रणमा लिएको छ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार अदालतले पक्राउ आदेश जारी गरिसकेको छ र आरोपितलाई चाँडै पक्राउ गरी अनुसन्धान अघि बढाइनेछ।