सामाजिक फीड, जनकपुरधाम,
१० मंसिर २०८१, सोमवार
पर्सा प्रहरीले आइतबार अपहरण र फिरौतीको आरोपमा हरिशंकर शर्मा र सुरेश दासलाई पक्राउ गरेको छ। हरिशंकर शर्मा आफूलाई विवादित संगठन समाजवादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउँदै आएका थिए।
प्रहरीका अनुसार, बारा जिल्लाको बारागढी गाउँपालिका–१ निवासी मोहन ठाकुरका छोरा हरिशंकर शर्मा र वीरगंज महानगरपालिका–१६ निवासी सुरेश दासले रौतहट जिल्लाको एक युवकलाई मोटरसाइकलसहित अपहरण गरेर दुई लाख रुपैयाँ फिरौती मागेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले विशेष योजनाका साथ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पीडितसँग पहिलो किस्ता स्वरूप ५० हजार रुपैयाँ बुझ्दै गर्दा शर्मा पक्राउ परेका थिए भने त्यसपछि सुरेश दासलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानले हरिशंकर शर्मा पत्रकार नभई कालिका टाइम्स र सर्व राष्ट्रिय दैनिकमा कम्प्युटर अपरेटरको रूपमा काम गर्दै आएको खुलासा गरेको छ। उनी पत्रकारिताको आडमा बजारमा ठगी गर्दै आएका थिए।
यस घटनापछि पर्साका केही पत्रकारहरूको आचरणले प्रहरीलाई आश्चर्यचकित बनाएको छ। आरोपीलाई छुटाउनका लागि केही पत्रकारहरू प्रहरी कार्यालयमा बारम्बार दबाब सिर्जना गर्ने प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ।
यस घटनाले समाजमा अपराधमुक्त बनाउने जिम्मेवारी रहेको पत्रकारिताको विश्वसनीयता माथि प्रश्न उठाएको छ। हाल प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।