सामाजिक फीड, जनकपुरधाम,
१० मंसिर २०८१, सोमवार
मध्यरातमा महिलाको शव बोकेर सडक छेउमा फाल्ने दृश्य सीसीटीभी फुटेजमा कैद भएपछि प्रहरीको अनुसन्धानले चाँडै नै घटनामा संलग्न युवकलाई पक्राउ गर्न सफल भएको छ। यो घटना मङ्सिर ७ गते काठमाडौंको कालीमाटीमा घटेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जीसीका अनुसार घटनामा संलग्न बझाङका २२ वर्षीय कविन्द्र मल्ललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिँदा पाँच दिनको म्याद थप गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मल्ल लागुऔषध प्रयोगकर्ता भएको र घटनास्थलमा फालिएको शव बोकेर हिँड्ने क्रममा उनले लगाएको चप्पल, ट्राउजर, र ज्याकेटकै आधारमा प्रहरीले उनलाई पहिचान गरेको हो। पक्राउपछि मल्लले सीसीटीभी फुटेजमा देखिएको व्यक्ति आफू नै भएको स्वीकार गरेका छन्।
महिलाको शव परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आउन बाँकी रहेकाले घटनाको कारण स्पष्ट नभए पनि महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।