Skip to main content

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।

यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन्। तर मृत्युपश्चात् दान दिने गरी अंग दान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ।

हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनि दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ। यो कुल अंग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो। वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन्।हाल एक हजारभन्दा बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतीक्षामा छन्। उनीहरू मृत्युपश्चात् हुने दानमा अधिक निर्भर हुनु परिरहेको छ।

हाल नेपालमा मृगौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी मन्त्रालयले गरिरहेको छ।

हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ। मृत्युपश्चात् हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठ बताउँछन्।

‘यस प्रोत्साहनमूलक निर्णयले दाता बढेर धेरैको ज्यान जोगाउन सकिने उनको अपेक्षा छ। दाताको संख्या दोब्बर हुने आशा गरेका छौँ’‚ श्रेष्ठले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *