सामाजिक फीड-
मंसिर ७, जनकपुरधाम ।
महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् ।
अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका छन् । मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय युवा रामशंकर यादवले बताए । शिव मन्दिरको प्रतिमास्वरुप शिवलिङ अज्ञात समूहले तोडफोड गरेकाले आफूहरु आन्दोलनमा उत्रेर दोषीलाई कारबाहीको माग गरेको उनले बताए ।महोत्तरी प्रहरीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले मन्दिरमा अज्ञात समूहले तोडफोड गरेकोले स्थानीयहरु आन्दोलित भएको जानकारी दिए । उनले सडक अवरुद्ध पारेको र सो सडक खुलाउनका लागि पहल थालिएको र स्थानीयवासीहरुसंग छलफल थालिएको बताए ।