सामाजिक फीड, जनकपुरधाम,५ मंसिर २०८१, बुधवार
मधेशमा परम्परागत कुटानी-पिसानी गर्ने उपकरण निर्माण गर्ने पत्थरकट्टाको पुख्र्यौली पेशा अहिले संकटमा परेको छ। आधुनिक प्रविधिको आगमनले सिलौटा, जाँतो, लोहोरा, र ओखलजस्ता उपकरणलाई विस्थापन गर्दै आएको छ। यसले दशकौंदेखि यो काममा आबद्ध थबई जातिका पेशाकर्मीहरूको जीवनयापनमा गम्भीर प्रभाव पारेको छ।
जनकपुरधामको पेठिया बजारमा ४० वर्षदेखि सिलौटा र जाँतो बनाउँदै आएका बलिराम थलजस्ता पेशाकर्मीहरू भोग्न बाध्य भएका कठिनाइहरू यस समस्याको प्रत्यक्ष प्रमाण हुन्। उनको परिवारले यो परम्परागत पेशाबाट जीवन गुजार्दै आएको भए पनि हाल सिलौटा र जाँतोको व्यापार घटेको छ। आधुनिक मिक्सर र मसला मिलहरूको बढ्दो प्रयोगले परम्परागत उत्पादनको माग घटाएको छ।
बलिरामका अनुसार, पहिले मसला पिस्न, गहुँ, मकै, र चामल पिस्न सिलौटा र जाँतोको व्यापक माग थियो। तर, अहिले ती उत्पादनहरू थुप्रै मेहनत र सिपले बनाएर पनि बजार पाउन कठिन भएको छ। सिलौटा र जाँतो बेच्नका लागि उनीहरू गाउँ–गाउँ पुग्छन्, तर माग न्यून भएपछि यिनको विक्री घटेको छ।
सिलौटा र जाँतो बनाउन आवश्यक ढुङ्गाको आपूर्ति पनि चुनौतीपूर्ण छ। विभिन्न संघ-संस्थाबाट कुनै सहयोग नभएको उनीहरूको गुनासो छ। सहरी क्षेत्रमा तयारी मसला र आधुनिक उपकरणहरूको प्रयोगले परम्परागत उपकरणलाई विस्थापन गरिरहेको छ।
स्थानीय सरकारले यो परम्परागत पेशाको संरक्षण र सुदृढीकरणका लागि कुनै ठोस कदम नचालेको पत्थरकट्टाहरूले बताएका छन्। परम्परागत कला र सिपको लोपसँगै यो पेशामा आश्रित समुदायको भविष्य अन्धकार बन्दै गएको छ। पेशालाई जोगाउन र समुदायको जीवनस्तर उकास्न सरकारी र गैरसरकारी निकायहरूको पहल आवश्यक छ।