Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार सकिएको हो।

प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले लिएको बयानमा लामिछानेले आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको बताएका छन्। उनले गोर्खा मिडियामा सहकारीको रकम आएकोबारे जिबी राईलाई नै थाहा भएको बयान दिएका छन्।

रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई बिहीबार नै पोखरा लैजाने तयारी गरिएको छ। प्रहरी स्रोतका अनुसार मौसमको अनुकूलता भएमा बिहीबारै लामिछानेलाई विमानबाट पोखरा लगिन्छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम  हिनामिनामा संलग्न रहेको आरोप छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो भने पुनः दोस्रोपटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले सहकारी ठगि मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!