सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ८ गते ।
मधेश प्रदेशका तीन मन्त्रालयका सचिवहरूको बिदाइ गरिएको छ। केही दिनअघि संघीय सरकारले सहसचिवहरूको नियमित सरुवामा मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह, संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको सम्मानमा बिदाइ समारोहको आयोजना ग¥यो। मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा आयोजित उक्त समारोहमा सहभागी सहसचिवहरूले मधेश प्रदेशमा आफूहरूले परिवारको सदस्यसरह आत्मीयता, सहयोग र सद्भाव पाएको बताए।
यो बिदाइ समारोह मधेश प्रदेश सरकारले सात वर्षमा पहिलोपटक आयोजना गरेको हो।
अर्थ मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका सुवासचन्द्र सिवाकोटीले मधेशमा काम गर्दा मन्त्रालयका कामकाजलाई प्रभावकारी बनाउन राजनीतिक नेतृत्वको मार्गनिर्देशन महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले मधेश प्रदेशमा बिताएको समय आफ्नो पेसागत जीवनका लागि अविस्मरणीय रहेको बताए।
गृह, संचार तथा कानुन मन्त्रालयबाट योजना आयोगमा सरुवा भएका वीरेन्द्रकुमार यादवले मधेशमा सचिवहरूको बिदाइ पहिलोपटक भएको भन्दै यो परम्पराले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे। उनले सम्मानसहितको बिदाइ पाउँदा मुख्यमन्त्री सतिशकुमार सिंहप्रति आभार व्यक्त गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कोशी प्रदेशमा सरुवा भएका शरणकुमार पाण्डेले मधेश प्रदेशमा काम गर्दा सिकेका कुराहरू अन्य प्रदेशमा पनि उपयोगी हुने बताए।
कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालको अध्यक्षतामा गृहमन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा आएका उधव रिजाललाई स्वागत गरियो।