सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ६ गते।
सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंगराहा टोलमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। मृतक कृष्ण कुमार महरा दुर्गा मेला हेर्न गएका बेला साथीहरूबीच विवाद हुँदा नशालु पदार्थको सेवनपछि हत्या गरिएको खुलासा भएको छ।
मिति २०८१ असोज २७ गते राति, मृतक महरा र उनका साथीहरू मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, र रोहित कुमार महराले मेला क्षेत्रमा नशालु पदार्थ सेवन गरे। मृतकले नाम नखुलेकी एक महिलालाई भेट्न खोज्दा विवाद सुरु भयो। यसले झगडामा परिणत हुँदै पाँचजनाले क्रुर ढंगले महराको घाटी र पेटमा धारिलो कैची रोपेर हत्या गरे।
हत्या पछि, अपराधीहरूले शवलाई गागन खोलाको किनारमा गाडेर भागेका थिए। मिति २०८१ कार्तिक २ गते राति उनीहरूलाई आफ्नै घरमा लुकी बसेको अवस्थामा प्रहरीले पक्राउ गर्यो। पाँचैजनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
