सामाजिक फीड
जनकपुरधाम, असोज २१ गते ।
विजया दशमीको अवसरमा जनकपुरधाममा यस वर्ष पनि लोकनृत्य झिझिया महोत्सव आयोजना हुने भएको छ। नव मिथिला फाउण्डेशनले आगामी बुधबारको दिन यस महोत्सवको आयोजना गर्ने जानकारी दिएको छ ।
फाउण्डेशनले आजको पत्रकार सम्मेलनमा मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्पराको संरक्षण गर्ने उद्देश्यले दोस्रो पटक झिझिया महोत्सव आयोजना गर्न लागेको बताएको छ ।
फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले गाउँगाउँबाट झिझिया टोलीका साथै दुई स्थानीय विद्यालयका छात्राहरूको टोली पनि महोत्सवमा भाग लिने जानकारी दिए । गत वर्षको जस्तै यसपटक पनि पाँच सय जना टाउकोमा घैँटा राखेर झिझिया नाच्ने उनको भनाइ थियो ।
फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार जनकपुरस्थित रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा धनुषाधाम समूह, अप्पन मिथिला झिझिया समूह (जनकपुरधाम वडा नम्बर ४ र १२), मिथिलेश्वर झिझिया समूह, हिमाली बोर्डिंग स्कुल, र जनकपुर एकेडमी स्कुललगायतका समूहहरू भाग लिनेछन् ।