Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १० गते ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा सामुदायिक विद्यालय तथा अन्य सरकारी निकायहरूमा महिलाका लागि बिदा दिने सूचना प्रकाशित गरियो । असोज ७ गते सार्वजनिक यो सूचनामा प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाको हस्ताक्षर थियो ।

तर, भोलिपल्ट अर्थात् असोज ८ गते बिहान, अर्को प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीले हस्ताक्षर गरेको नयाँ सूचना सार्वजनिक भयो । जसमा जितिया पर्वको बिदा नरहेको जानकारी दिइएको थियो । यसले गाउँपालिकावासीहरू अन्योलमा परे । कसैले बिदा मनाए भने कसैले मानेनन् । यो द्वन्द्वको मुख्य कारण हो लक्ष्मीनियाँ गाउँपालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हुनु ।

झण्डै एक महिनादेखि कार्यालयमा दुई प्रशासकीय अधिकृतहरूबीच जुहारी चलेको छ । कार्यालयको बिदा, कर्मचारीहरूको कार्यविभाजन लगायतका निर्णय एकजना अधिकृतले गर्ने र अर्काले उल्ट्याउने गरेका छन् । यसले कार्यालयको सामान्य कामकारबाही समेत प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को गाउँसभा समेत अहिलेसम्म सम्पन्न हुनसकेको छैन ।

प्रशासकीय अधिकृत यमबहादुर उपरकोटी ३० वैशाखमा गाउँपालिकामा हाजिर भएका थिए भने १३ भदौमा सामान्य प्रशासन मन्त्रालयको सरुवाको पत्रसहित सर्वजीत झा पनि हाजिर भए । विवाद उत्कर्षमा पुगेपछि उपरकोटीको सरुवाको पत्र १४ भदौमा सार्वजनिक भयो । समान्य प्रशासन मन्त्रालयले उनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।

उपरकोटीले भने आफूले यो पत्र औपचारिक रूपमा प्राप्त नगरेको दावी गरे । आफूले फेसबुकमा देखेपछि जानकारी पाएको उनको भनाइ छ ।

पालिका अध्यक्ष भोगेन्द्र झाले सामान्य प्रशासन मन्त्रालयको बदमासीले कार्यालयमा प्रशासकीय अधिकृतको विवाद सिर्जना भएको गुनासो गरे । उनले उपरकोटीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा राख्ने पक्षमा छन् । मन्त्रालयले कुनै सरसल्लाहबिना सर्वजीत झालाई सरुवा गरेको आरोप पनि अध्यक्ष झाको छ । उपरकोटीलाई नै निरन्तरता दिने भन्दै अध्यक्ष झाले सर्वजीत झालाई फिर्ता गर्ने मन्त्रालयलाई १३ भदौमा पत्र पठाएका छन् ।

उपरोक्त विवादकै कारण उपरकोटीले आफ्नो अधिकारका लागि १७ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ३० वैशाखदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेको अवस्थामा अचानक सर्वजीत झाले अनाधिकृत रूपमा कार्यालयमा प्रवेश गरी विधिप्रक्रिया मिचेको उनको तर्क छ ।

सर्वजीत झा सिरहाको औरही गाउँपालिकामा चार महिना सेवा गरेर लक्ष्मीनियाँ आएका थिए, भने उपरकोटी तेह्रथुमको छथर गाउँपालिका कार्यालयबाट आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *