सामाजिक फीड-
जनकपुरधाम, भदौ २८ गते।
मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो ।
मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा, २०८० साल चैत ११ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार, पैगम्बर मोहम्मदको जन्मदिनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले मधेश प्रदेशभर सार्वजनिक बिदा लागू हुनेछ।“