सामाजिक फीड-
जनकपुरधाम, भदौ २५ गते ।
भियतनाममा आएको शक्तिशाली ‘यागी’ तुफानले ठूलो जनधनको क्षति पुर्याएको छ। यस तुफानका कारण ६० जनाभन्दा बढीले ज्यान गुमाएका छन्, भने २४० भन्दा बढी मानिस घाइते भएका छन्। तुफानले भियतनामको फुथोक प्रान्तमा फोङचाउ पुल भत्काउँदा सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता भएका छन्।
तुफानले उत्तर भियतनामको जनजीवनलाई अस्तव्यस्त बनाएको छ। ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरू अवरुद्ध भएका छन्, घरहरू उजाडिएका छन्, र विद्युत आपूर्ति बन्द हुँदा १५ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्।
सरकारले तटीय क्षेत्रबाट करिब ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यसलाई ‘सुपर टाइफुन’ भनिएको छ, जुन भियतनाममा तीन दशकपछि देखिएको सबैभन्दा शक्तिशाली तुफान हो। तुफानको वेग २०३ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो।
यागी तुफानले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको छ। चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्तीहरू तुफानबाट प्रभावित भएका थिए, जहाँ विद्यालयहरू र हवाई उडानहरू बन्द गरिएका थिए। यद्यपि, चीनमा तुफानको असर कम भएपछि पुनर्स्थापनाको काम सुरु भइसकेको छ।