Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भदौ २४ गते ।

सरकारले अस्ट्रेलियाका लागि चित्रलेखा यादवलाई राजदूतको रूपमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेसकी यादवलाई राजदूतको रूपमा सिफारिस गरेको हो । यादव यसअघि पुनर्स्थापित प्रतिनिधि सभाकी उपसभामुख, कांग्रेसकी पूर्वकोषाध्यक्ष, शिक्षा मन्त्री, र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी छिन्।

गत साउन १४ गते १८ देशका राजदूतहरू सिफारिस गर्दा समावेशी सिद्धान्तको उल्लंघन भएको भन्दै आलोचना भएको थियो । यसै विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भदौ १८ गते सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । समितिमा परराष्ट्र मन्त्री आरजु राणाले सिफारिसमा समावेशी नीतिको कमी भएको स्वीकार गर्दै “आइ एम सरी“ भनेकी थिइन् ।

त्यसपछि राणाले अस्ट्रेलियाका लागि कांग्रेसकी यादवलाई सिफारिस गर्ने तयारी गरेकी थिइन् । यसअघि कांग्रेसकै तर्फबाट कान्ता रिजाललाई अस्ट्रेलियाका लागि सिफारिस गरिएको थियो, तर इजरायलका लागि राजदूत हुँदा लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरीका कारण रिजालको नाम सिफारिसबाट फिर्ता लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *