Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।

महोत्तरीको भंगहा नगरपालिका ५ र ४ को बीचमा रहेको बडहडी खोलामा ७ वर्षअघि बनाइएको पुल हालसम्म अलपत्र परेको छ । पुलको पूर्वतिर सडक नहुँदा ७ वर्षदेखि सर्वसाधारणले पुल प्रयोग गर्न सकेका छैनन् । वर्षामा बाढी आएपछि आवतजावत ठप्प भएर स्थानीयहरूलाई कष्टको सामना गर्नु परेको स्थानीय समिर मन्सुर गुनासो पोख्छन् ।

‘अमिल्दो पुल बनायो । सरकारले संचालनमा ल्याउन कुनै मतलब गरेको छैन । बाढीमा निकै कठिनाइ भोग्नु पर्छ । यो पुलको के काम ?’ मन्सुर गुनासो गर्छन् ।

यो पुल निर्माण महोत्तरीको जिल्ला विकास समितिबाट (जिविस) २०७४ सालमा सम्पन्न भएको थियो । जिविसले २०७१ सालमा २ करोड ६२ लाख रुपैयाँको ठेक्कामा इलिट कन्ट्रक्सन काठमाडौंलाई पुल बनाउन जिम्मा दिएको थियो । पुल निर्माण चार वर्षमा सकिए पनि पूर्वतर्फको विङ्गल बाढीले बगाएपछि संचालनमा ल्याउन नसकिएको हो ।

स्थानीय शनिचर सदा भन्छन्, ‘पुल बन्यो तर बाटो नै छैन । कसरी यहाँबाट आवतजावत गर्ने ?’

निर्माणको जिम्मा लिएको कम्पनीले पुल जिविसले दिएको डिजाइन अनुसार नै बनाएको बताए । उनले बाढीले पूर्वतर्फको विङ्गल बगाएको कारण पुलको मर्मतसम्भार गर्न नसकिएको कम्पनीका प्रतिनिधि दीपेन्द्र झाले बताए ।

नगरपालिका भने पुल सञ्चालनमा ल्याउन दोहोरो लगानी हुने डरले चुपचाप बसेको छ । ‘पुलको मर्मतमा नगरपालिकाले लगानी गर्दा कानुनी समस्या पर्न सक्छ । यसैले प्रदेश सरकारलाई पटक–पटक मर्मतका लागि आग्रह गर्दा पनि अहिलेसम्म बजेट छुट्याएको छैन’ भंगहा नगरपालिकाका मेयर संजीवकुमार साह भन्छन् ।

हाल भौतिक पूर्वाधार कार्यालय महोत्तरीले चालु आर्थिक वर्षमा पुल मर्मतको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । यसपालि पुल संचालनमा आउने सम्भावना रहेको इन्जिनियर विरेन्द्र साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!