Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २१ गते।

आज तराई मधेश क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइँदै छ । यो पर्वमा व्रतालु दिनभरि उपवास बसेर साँझपख भगवान गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।
भदौ शुक्ल चतुर्थीको दिन चन्द्रमाको पूजा गर्दा विभिन्न कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास छ। छठपछि मधेशको दोस्रो ठूलो पर्व रुपमा मनाइने चौरचनमा साँझको समयमा व्रतालुहरू भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल लगायतका प्रसाद अर्पण गर्छन्।

सूर्यास्तपछि गाईको गोबरले लिपेर आँगनमा चामलको पिठोले कलात्मक अरिपन बनाइन्छ र त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजा गरिन्छ। यस अवसरमा माटोको नयाँ भाँडामा दही, केरा, मिठाई, फलफूल र विभिन्न प्रकारका पकवान राखेर देवी-देवताहरुलाई चढाइन्छ।

चौठचन्द्र पर्वमा गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ। यो पर्वको प्रारम्भ तत्कालीन राजा हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ। चौठचन्द्र पूजा गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास छ, जसका कारण मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्व मनाइन्छ।

जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा र भारतका केही राज्यहरूमा पनि यो पर्व धूमधामका साथ मनाइन्छ। हिन्दू धर्मावलम्बीहरू यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा समेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!