अहिले जो उद्योगी ब्यापारीहरु सडकमा उत्रिएका छन्, वास्तवमा नै सहन नसक्ने अवस्था भएरै उनीहरुले यो कदम उठाइरहेका छन् । यस्तो
समस्याबाट निकास दिइएन भने यो आक्रोशको स्वर ठुलो हुदै जान्छ ।
अहिले अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या मागमा आएको संकुचनले ल्याएको छ । हरेक जस्तो क्षेत्र यो समस्याबाट पीडित छ । स्टिलको व्यापार र माग ६० देखि ७० प्रतिशत खस्केको छ । सिमेन्टको व्यापार ५० प्रतिशतले संकुचित भइसकेको छ । अटोमोबाइलको व्यापार ७० प्रतिशत कम छ । प्लाष्टिक उद्योगको उत्पादन ३० प्रतिशत संकुचित बनिसक्यो । दैनिक उपभोग्य वस्तु र पेय पदार्थको मागमा पनि १५ प्रतिशत संकुचन आएको छ
निर्माणको काममा पनि साह्रै गिरावट आएको छ । निर्माणका लागि व्यवसायीलाई पैसा र काम दुवैको अभाव छ । इन्जिनियरिङ इन्डस्ट्रिजमा झण्डै ३० प्रतिशतको डाउन छ । यस्तो बेलामा विकास खर्च पनि सुकेको छ । निर्माण व्यवसायीसँग ठेक्का छैन । विभिन्न कारणले निर्माण व्यवसायीले काम गर्न सकेका नै छैनन् ।
नेपाल उद्योग परिसंघले मागको संकुचन समस्याबारे अध्ययन पनि गरिरहेको छ, तर अहिलेसम्मको हाम्रो निष्कर्ष हो, अवस्था विकराल बन्दै छ ।